सम्पूर्ण देश महान चाडहरुको रमझममा रमाई रहेको बेला कतिपयलाई भने आँखामा झुसिलकिरा बिझेर ज्यादै नै सताउन थालेको छ | यो समयमा यत्रतत्र झुसिलकिराहरु पाईने भएकोले नै होला "जिल्ला आँखा उपचार केन्द्र बाग्लुङ "मा दैनिक २५-३०% सम्म यस्ता बिरामीहरु आउन थालेका छन | प्राय:जसो आँखाको ढकनीमा तथा कहिलेकाँही आँखाको सेतोभाग र पारदर्शक नानी (Cornea) मा बिझ्ने यस्ता झुसिलकिराका रौं यदि समयमै ननिकालेको खण्डमा आँखाको नानीमा घाउ हुन गै सदाका लागी दृष्टि गुम्ने पनि हुन सक्छ | त्यसैले आँखामा झुसिलकिरा बिझ्न नदिन साबधानी अपनाउने तथा झुसिलकिरा बिझिहालेमा तुरुन्त नजिकको आँखा अस्पताल वा आँखा उपचार केन्द्रमा गै आँखा जाँच गराउनुहोला |
लक्षणहरु :- ज्यादै आँखा बिझाउने,आँखा अचानक रातो हुने,आखाबाट आँशु बग्ने,उज्यालो प्रकाश वा सुर्यको किरणमा हेर्न गा-हो हुने,बच्चाहरुले आँखा ज्यादै मिच्ने,आँखाको ढकनीहरु सुन्निने,आँखाको दृष्टिक्षमता कम हुने आदी
आँखामा झुसिलकिरा परेको शंका लागेमा के गर्ने ?
आँखा मिच्न बिलकुलै हँदैन,यदि भर्खरै किनेको आँखामा राख्न मिल्ने एन्टिबायोटिक झोल या मलम उपलब्ध भयो भने लगाउँदा हुन्छ ( स्मरण रहोस यस्तो बेलामा आँखामा जस्तो पायो तेस्तै औषधीको प्रयोग गर्दा झन असर पर्न सक्छ र औषधीको मात्र प्रयोगले समस्या ठिक हुँदैन,आँखा अस्पताल वा आँखा उपचार केन्द्रमा गै झुसिलकिरा निकालेमा मात्र समस्या ठिक हुन्छ ) र जतिसक्दो छिटो नजिकको आँखा अस्पताल वा आँखा उपचार केन्द्रमा जँचाउन जाने |
के के साबधानी अपनाउन सकिन्छ त ?
- घर कोठा वरपर सफा सुघ्घर राख्ने - सुत्ने ओछ्यान सफा राख्ने(बेलाबेलामा टक्ट्क्याउने) - खेतबारीमा काम गर्दा वा घाँस काट्दा नजिकै झुसिलकिरा भए नभएको निगरानी राख्ने,नजिकै झुसिलकिरा देखिएमा शरिरमा कतै काँढा नबिझ्ने गरि सुरक्षित ठाउँमा फालिदिने वा खाडल खनेर पुरिदिने ( आफु रहेको अवस्था र उपलब्ध ब्यबस्था अनुसार झुसिलकिरालाई उचित ब्यबस्थापन गर्ने ) - हात खुट्टा वा शरिरको कुनै पनि भागमा झुसिलकिरा बिझेमा नमिचिकन उक्त भागबाट सुरक्षित तरिकाले रौंहरु हटाउने ( यस्को लागि उपलब्ध कुनै पनि सुरक्षित औजार जस्तै सानो चिम्टा,फोरसिप आदि प्रयोग गर्न सकिन्छ ) र साबुनपानीले राम्रोसँग धुने ता कि शरिरका अन्य भाग़मा बिझेका झुसिलकिराका रौं बिभिन्न माध्ययमबाट सरेर आँखासम्म आइ नपुगोस | - बच्चाहरुलाई फोहोरी र असुरक्षित ठाउँमा उत्तानो पारेर नसुताउने आदी