आजको युग सुचना प्रविधिको हो । द्रुतदर र अकल्पनिय रुपमा सुचना प्रविधिमा भैरहेको बिकाशका कारण आज विश्व दिनप्रतिदिन साँघुरिदै गैरहेको छ । सुचना प्रविधिका आश्चर्यजनक उपलब्धीहरुमध्य कम्प्युटर सर्वश्रेष्ठ हो भन्ने कुरामा कसैको दूईमत नहोला । यत्र तत्र सर्वत्र प्रयोग भै रहेको कम्प्युटरको प्रयोग बिना हाम्रा दिनप्रतिदिनका धेरै कार्य सम्पादन गर्न असम्भवप्राय छ । आर्थिक,राजनितीक,सामाजिक बिकाशमा अत्यन्तै पछि परेको नेपाल पनि सुचना प्रविधिको विश्वब्यापीकरणको प्रभावबाट भने अछुतो रहन सकेको छैन । नेपालका प्राय सबै सरकारी,गै-ह सरकारी तथा निजि संघ संस्था,वित्तिय,स्वास्थ्य,शैक्षिक संस्थान आदीमा कम्प्युटरको प्रयोग दिन प्रतिदिन बढ्दै गएको छ भने व्यक्तिगत रुपमा कम्प्युटर तथा इमेल इन्टरनेटको प्रयोगकर्ताहरु पनि दिनप्रतिदिन बढ्दै गएका छन । जसरी कम्प्युटर प्रयोगकर्ताहरु बढेका छन, त्यहि अनुपातमा उचित व्यबस्थापन तथा सतर्कताको अभावमा कम्प्युटर प्रयोगकर्ताको आँखा स्वास्थ्यमा पनि प्रतिकूल असर पर्न गएको देखिन्छ । त्यसैले प्रस्तुत छ,उचित व्यबस्थापन तथा सतर्कता बिना लामो समय कम्प्युटरको प्रयोग गर्दा आँखामा हुन जाने समस्या " कम्प्युटर भिजन सिन्ड्रोम " ( Computer vision syndrome )तथा त्यसको रोकथाम सम्बन्धि जानाकारी :-
१ ) परिचय :- लामो समय कम्प्युटर चलाउँदा आँखामा र आँखाको दृष्टिमा पर्न जाने प्रतिकूल प्रभाव वा समस्यालाइ नै कम्प्युटर भिजन
सिन्ड्रोम ( Computer vision syndrome ) भनिन्छ । कम्प्युटरमा काम गर्दा लामो समयसम्म मोनिटर ( Monitor )मा मात्रै हेरिरहने र आँखा पनि कम झिम्काउने ( सामान्य अवस्थामा स्वस्थ्य व्यक्तिको स्वस्थ्य आँखा १५ देखि २० पटक प्रतिमिनेट झिम्किन्छ भने कम्प्युटर प्रयोग गर्दाको अवस्थामा उक्त दर घटेर ५ पटक प्रतिमिनेट पुगेको हुन्छ ) कारणले यस्तो समस्या हुन्छ । दूबै आँखाको माथिल्लो ढकनिको भित्रपट्टी लगातार आँशु उत्पादन गर्ने ग्रन्थिहरु हुन्छन । यसरी उत्पादित आँशुले प्रत्येक पटकको झिम्काइमा आँखाको देखिने भागको बाहिरी सतह चिसो,ओसिलो,सफा र तन्दूरुस्त राख्छ । जसै हामीले कम आँखा झिम्काउँछौ,आँखाको सतह सुख्खा हुनुका साथै अनेकानेक समस्या देखा पर्छन । कम्प्युटर प्रयोगकर्ताको आँखामा यदि चस्माको पावर लाग्ने छ भने पनि उक्त व्यक्तिलाइ कम्प्युटर भिजन सिन्ड्रोम ( CVS ) हुन सक्छ । यसै गरि प्रकाश,आँखा देखि मोनिटर सम्मको दुरी,बस्ने कुर्ची आदी विबिध कुराको उचित व्यबस्थापन भएन भने पनि यो समस्या देखा पर्छ ।
२ ) लक्षणहरु :- आँखा दुख्ने,पोल्ने,सुख्खा हुने,आँशु आउने,धमिलो हुने,टाउको दुख्ने,वान्ता होला जस्तो हुने,घुमाउने आदी ।
३ ) समाधानका उपायहरु :- क ) आँखा जाँच :- माथीनै भनिसकियो कि आँखामा चस्माको पावरको आवस्यकता पर्ने व्यक्तिहरुलाइ यो समस्या हुन्छ । आँखा जाँच नगरिकन आँखामा पावर लाग्ने नलाग्ने थाहा हुँदैन तसर्थ सम्पूर्ण कम्प्युटर प्रयोगकर्ताले कम्प्युटरको प्रयोग शुरु गर्नुभन्दा पहिले नेत्ररोग विशेषज्ञ वा नेत्र चिकित्सकसंग आँखा जाँच गराउनु पर्दछ । ख ) आँखा र कम्प्युटर स्क्रिन विचको दूरी :- आँखा कम्प्युटरको मोनिटरदेखि २०-२५ इन्चको दूरीमा हुनु पर्दछ साथै आँखा मोनिटरको विचमा परेको हुनु पर्छ । ग ) मोनिटरको स्थिती :- कम्प्युटरको विचको भाग आँखा भन्दा १५-२० डिग्री तल हुनु पर्दछ । मोनिटर आँखा भन्दा कुनै पनि हालतमा माथि हुनु हुदैन । यदि यस्तो भएमा यो समस्या हुने संम्भावना अत्यन्तै बढि हुन्छ । घ ) प्रकाशको उचित व्यबस्थापन :- कम्प्युटर प्रयोगकर्ताले कोठामा प्रकाशको उचित व्यबस्थापन गर्नु पर्छ । कोठामा अत्याधिक बढि प्रकाश छिरेको पनि हुनुहुदैन भने धेरै नै कम प्रकाश वा अध्यारो पनि हुनुहुदैन । प्रकाश चारैतिरबाट बराबर मात्रामा कोठामा परेको हुनु राम्रो हुन्छ । कम्प्युटर प्रयोग गरिरहँदा झ्यालबाट सिधै आँखामा प्रकाश पर्नु भने हुँदैन । सिलिङमा ट्युवलाइट भएको कोठा उपयुक्त हुन्छ । ङ ) एन्टि ग्लेयर स्क्रिन( Anti-glare screen )को प्रयोग :- यस्तो स्क्रिनले कम्प्युटरको मोनिटरबाट निस्कने किरण तथा विकिरणको मात्रालाइ नियन्त्रण गर्ने हुनाले आँखामा पर्न जाने नकरात्मक प्रभावलाइ कम गरि आँखा दूख्ने वा थाक्ने समस्यालाइ कम गर्छ । च ) कम्प्युटरको मोनिटर बदल्ने :- पुरानो प्रबिधिको सि.आर.टि. ( Cathod ray tube ) मोनिटरले भन्दा नयाँ प्रबिधिको एल.सि.डि. ( Liquid crystal display ) मोनिटरले आँखामा नकरात्मक असर कम पार्ने र हेर्न पनि सजिलो र आरामदायी हुने हुनाले एल.सि.डि. ( LCD monitor ) को प्रयोग गर्ने । छ ) स्क्रिनको उज्यालोपन र गाढापन मिलाउने :- कम्प्युटर प्रयोग गरिरहँदा स्क्रिनको उज्यालोपन र गाढापन ठिक्कको हुनुपर्दछ । धेरै उज्यालो वा कम उज्यालो तथा धेरै गाढा वा धेरै धमिलो भएमा आँखा थाक्ने र दूख्ने हुन्छ । साथै भरसक सेतो पृष्ठभुमीमा कालो वा निलो रंगको अक्षर भएका डकुमेन्टहरुको प्रयोग गर्नु राम्रो हुन्छ । ज ) आँखा धेरै झिम्काउने :- कम्प्युटरको प्रयोग गर्दा ध्यान जति सबै कम्प्युटरमै केन्द्रित हुने हुनाले हामी सबैले आँखा झिम्काउन बिर्सिन्छौ जस्ले गर्दा आँखा सुख्खा हुन गै विबिध समस्याहरु देखिन्छन । तसर्थ कम्प्युटरको प्रयोग गर्दा बारम्बार आँखा झिम्काइ रहनुपर्दछ । झ ) आँखाको अभ्यास ( Exercise ) गर्ने :- कम्प्युटको प्रयोग गर्दा यस्तो समस्याबाट बच्न आँखाको अभ्यास गर्नु अत्यन्त जरुरि हुन्छ । र यसरि आँखाको अभ्यास गर्न २०-२०-२० को नियम लागु गर्नु पर्छ । यो नियमानुसार प्रत्येक २० मिनेटमा २० फिट ( ६ मिटर ) परको बस्तु २० सेकेण्डको लागि ( एकोहोरो आँखा नझिम्काइकन भने होइन ) हेर्नुपर्दछ । जस्ले गर्दा आँखालाइ राहत पुग्न गै यस्तो समस्या हुनबाट बच्न सकिन्छ । ञ ) विश्राम ( Break ) लिने :- लगातार धेरै समय कम्प्युटरको प्रयोग गर्दा यस्तो समस्या हुने भएकोले विच-विचमा विश्राम लिनु पर्दछ । र एक पटकमा कम्तिमा २० मिनेट विश्राम लिनु पर्दछ । त्यसपछि पून: कम्प्युटर चलाउन सकिन्छ । ट ) बस्ने कुर्चीको व्यबस्थापन :- कम्प्युटर प्रयोग गर्दा आरामदायी र दूबै हात अडेस लगाउन मिल्ने हाते कुर्चीको प्रयोग गर्नु राम्रो हुन्छ । ठ ) चस्माको प्रयोग :- पावर चस्माको आवश्यक पर्ने व्यक्तिले पावर चस्मा लगाएर तथा पावर चस्माको आवश्यक नपर्ने व्यक्तिले पनि बिना पावरको चस्मा लगाएर कम्प्युटरको प्रयोग गर्नु पर्छ । ड ) औषधीको प्रयोग :- कम्प्युटर भिजन सिन्ड्रोम ( CVS ) बाट बच्न नेत्ररोग विशेषज्ञ वा नेत्र चिकित्सक ( सहायक ) को सल्लाह बमोजिम आँखामा नक्कली आँशु ( Lubricating eye drop )को प्रयोग सबैभन्दा प्रभावकारी हुन्छ । बजारमा यस्ता औषधीहरु प्रसस्त पाइने भएपनि कतिपय प्रभावकारी र उपयुक्त नहुन सक्छन तसर्थ नेत्ररोग बिशेषज्ञ वा नेत्र चिकित्सक ( सहायक ) ले नै सिफारिस गरेको औषधी आँखामा प्रयोग गर्नु पर्छ ।
पूनश्च: नयाँ नयाँ प्रविधिलाइ अवश्य अंगालौँ तर विशेष साबधानी र सतर्कतापूर्वक !!!